काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका चर्चित ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल टिकटकको संयुक्त सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), बङ्गलादेश र श्रीलङ्काका कन्टेन्ट क्रिएटर नेपाल आएका हुन् ।

ADVERTISEMENT

उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, मौलिक कला–संस्कृति, साहसिक पर्यटन र स्थानीय जीवनशैली समेटिएका भिडियो सामग्री निर्माण गर्नेछन् । ती सामग्री टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याइनेछ ।

ADVERTISEMENT

अभियानअन्तर्गत विदेशी क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन् । नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलका अनुसार उनीहरूले स्थानीय जनजीवन, संस्कृति, प्रकृति र पर्यटकीय गतिविधिलाई भिडियोमा समेट्नेछन् ।

फ्लाई दुबईको उडानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनीहरूलाई पर्यटन बोर्ड तथा स्थानीय पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।

नेपाल पर्यटन बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने समझदारी भएको थियो । सोही सहकार्यअन्तर्गत ‘लाइफ टाइम एक्सपिरियन्स’ अभियान सञ्चालन गरिएको हो ।

यस अभियानमा बङ्गलादेश, श्रीलङ्का, ट्युनिसिया र यूएईका क्रिएटरहरूले पोखरा तथा आसपासका पर्यटकीय आकर्षण समेट्नेछन् । फ्रान्सका क्रिएटरले चितवनको वन्यजन्तु, राष्ट्रिय निकुञ्ज र थारू संस्कृतिमा आधारित सामग्री बनाउनेछन् ।

त्यस्तै, पोर्चुगल र दक्षिण कोरियाका क्रिएटरले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु र होमस्टेमा आधारित सामुदायिक पर्यटनका सम्भावना विश्वसामु प्रस्तुत गर्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । डिजिटल प्लेटफर्ममार्फत विश्वभरका दर्शकसम्म पुग्ने यस्तो अभियानले नेपाली पर्यटनको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उनको अपेक्षा छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले यस्ता प्रयासले नेपाललाई विश्वस्तरको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए ।