काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल प्रवेश गर्दा दुई मन्त्री आफ्नो सिटबाट नउठेको विषयलाई लिएर संसद्मा नियमापत्ति भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा नियमावली, २०८३ को व्यवस्था स्मरण गराउँदै सभामुख प्रवेश गर्दा सबै सदस्यले उठेर सम्मान प्रकट गर्नुपर्ने नियम उल्लंघन भएको दाबी गरेका हुन्।
यसअघि बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित नभएको भन्दै सांसद गोपाल शर्माले नियमापत्ति जनाएका थिए। त्यसपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
अपराह्न पुनः बैठक सुरु हुनुअघि सभामुख अर्याल बैठक कक्षमा प्रवेश गर्दा अधिकांश सांसद उठेका थिए। तर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल भने आफ्नो सिटमै बसिरहेको विषय उठाइएको हो।
नियमापत्ति गर्दै सांसद महरले संसद्को गरिमा र मर्यादा सबै पक्षले पालना गर्नुपर्ने उल्लेख गरे। उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड ‘क’ अनुसार सभामुख प्रवेश गर्दा सम्मान प्रकट गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै उक्त घटनाको भिडियो रेकर्ड जाँच गरी आवश्यक रुलिङ गर्न सभामुखसँग माग गरे।
सांसद महरको भनाइपछि बैठकमा उपस्थित सांसदहरूले टेबुल बजाएर समर्थन जनाएका थिए। यद्यपि सभामुख अर्यालले उक्त विषयमा तत्काल कुनै प्रतिक्रिया नदिई कार्यसूचीअनुसार बैठक सञ्चालन गरेका थिए।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विभिन्न मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ।






