काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक विभागले प्रारम्भिक रूपमा सडक तथा पुलमा करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ।

अवरुद्ध राजमार्ग तथा रणनीतिक सडक सञ्चालनमा ल्याउन सरकारले नयाँ ट्रयाक खोल्ने र क्षतिग्रस्त पुलको स्थानमा बेलिब्रिज जडान गर्ने कामलाई प्राथमिकता दिएको छ।

ADVERTISEMENT

नुवाकोटको विदुरस्थित देवीघाटमा नेपाली सेनाले ६० मिटर लामो बेलिब्रिज जडान सुरु गरेको छ। भोटेकोशी बाढीले करिब ५५ मिटर लामो पक्की पुल बगाएपछि यहाँ यातायात अवरुद्ध भएको थियो। बेलिब्रिज तयार भएपछि रसुवातर्फको पहुँच सहज हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

त्रिशूली बजार र बेत्रावतीमा पनि करिब ४८ मिटर लामो बेलिब्रिज जडान गर्ने तयारी छ। यस्तै, रसुवाको स्याफ्रुबेँसीमा करिब ७५ मिटर लामो बेलिब्रिज आवश्यक देखिएको छ।

चीनले कोराला नाकामा बेलिब्रिजका सामग्री उपलब्ध गराएको छ। तर क्षतिग्रस्त स्थानसम्म सामग्री पुर्‍याउन सडक नै अवरुद्ध भएकाले ढुवानीमा समस्या भएको सडक विभागले जनाएको छ।

ADVERTISEMENT

बेत्रावतीसम्म तत्काल अस्थायी सडक निर्माण गर्ने योजना भए पनि विदुर–१० मा स्थानीयको मुआब्जा मागका कारण काम प्रभावित भएको छ। सहमति भए दुई दिनभित्र बेत्रावतीसम्म सडक जोड्ने विभागको लक्ष्य छ।

यता धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग पुनः सञ्चालनका लागि नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ। २५२ मिटर ट्रयाक खनिसकिएको र केही दिनको मर्मतपछि सवारी सञ्चालनमा ल्याउने तयारी रहेको विभागले जनाएको छ। गजुरीको परेवाभिर खण्डमा भने आज सवारी आवागमन बन्द गरी मर्मत भइरहेको छ।

बाढीपछिको सडक तथा पुल पुनर्निर्माणका लागि नयाँ ट्रयाक र अस्थायी पुल निर्माणलाई तीव्रता दिइएको छ।