काठमाडौँ । रसुवामा आएको बाढीले क्षतिग्रस्त बनाएको गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत महादेव फाँट–छबिसे सडकको मर्मत तथा पुनर्निर्माण तीव्र पारिएको छ।
भदौ १० गते त्रिशूली नदीमा आएको ठूलो बाढीले सडकको तल्लो भाग कटान गरेपछि महादेव फाँट–छबिसे क्षेत्रमा सडक भासिएको थियो। त्यसपछि मुख्य सडकबाट नियमित यातायात सञ्चालन बन्द छ।
सडक तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले प्राविधिक तथा निर्माण टोलीले क्षतिग्रस्त भाग पुर्ने, सडकको आधार मजबुत बनाउने र नदीतर्फबाट थप कटान रोक्न आवश्यक संरचना निर्माण गरिरहेका छन्।
मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्गबाट गल्छीदेखि देवीघाटसम्म आवतजावत गर्न सकिने अवस्था रहेको बताइएको छ। तर, सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा, यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।
चीनसँगको उत्तरी नाका रसुवागढी जोड्ने महत्वपूर्ण मार्ग भएकाले सडक अवरोधले स्थानीय आवागमनसँगै व्यापारिक तथा मालवाहक यातायातमा समेत असर परेको छ।
निर्माण पक्षले नदीको बहाव, मौसम र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै क्षतिग्रस्त सडकलाई छिटोभन्दा छिटो अस्थायी रूपमा सञ्चालनमा ल्याउने र त्यसपछि दीर्घकालीन रूपमा सुरक्षित सडक संरचना निर्माण गर्ने तयारी गरेको छ।


default






