काठमाडौं, भदौ २९ गते । भोटेकोशी हिमबाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मत तथा पुनःस्थापनापछि पुनः सञ्चालनमा आएको छ। भदौ १० गते आएको बाढीका कारण जहरेखेतस्थित सबस्टेसनमा करिब १० फिटसम्म लेदोसहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो।
नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण तथा आवश्यक सामग्री परिचालन गरी क्षतिग्रस्त संरचना र उपकरणको मर्मत तथा पुनःस्थापनालाई तीव्रता दिएको थियो। प्राधिकरणका अनुसार भदौ २८ गते दिउँसो २ बजेदेखि जहरे सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको हो।
सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गतका २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गत किरान्चोक, मिलनटारलगायत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ।
सबस्टेसन सञ्चालनमा आएपछि बाढीबाट प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको प्राधिकरणले जनाएको छ। नियमित र भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणका कर्मचारीहरूले बताएका छन्।
भोटेकोशी बाढीका कारण धादिङसहित विभिन्न जिल्लाका विद्युत् संरचनामा क्षति पुगेपछि प्राधिकरणले क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् सेवा पुनःस्थापनालाई तीव्रता दिँदै आएको छ।






