काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागेको हो।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख ४० हजार कित्तामध्ये बिक्री हुन बाँकी शेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर निष्कासन गरिसकेपछि थप सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन छिटोमा भदौ २५ गते बन्द हुनेछ। सो अवधिमा मागअनुसार आवेदन नपरेमा असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओमा आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ। निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले सम्हालेको छ।
बेनी हाइड्रोपावर प्रोजेक्टले सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले आईपीओबाट प्राप्त रकम बैंक ऋण भुक्तानीमा उपयोग गर्ने जनाएको छ।आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ।कम्पनीको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको छ।नेप्सेमा सूचीकृत भएपछि कम्पनीको पहिलो कारोबारका लागि शेयर मूल्य ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको रेञ्जमा तोकिनेछ।








