काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रबिन सिजापति नियुक्त भएका छन् । बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले सिजापतिलाई नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका सीईओ सुयोग श्रेष्ठको कार्यकाल बिहीबारदेखि समाप्त भएपछि बैंकले नयाँ नेतृत्व चयन गरेको हो ।
नवनियुक्त सीईओ सिजापतिलाई बैंकको उच्च व्यवस्थापन टोलीले आजै कार्यालयमा स्वागत गरेको छ ।
सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) मा वरिष्ठ नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए । एनआईएमबीमा डेपुटी सीईओसरहको जिम्मेवारीमा रहेका उनले असार मसान्तदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए । सिजापति सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकहरूमध्ये एकसमेत हुन् । बैंक स्थापनामा लगानी गरेका उनी अब आगामी चार वर्षका लागि सोही बैंकको व्यवस्थापकीय नेतृत्वमा पुगेका छन् ।





