काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ।
बैंकको आर्थिक सहयोग र सहजीकरणमा गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला तथा दार्चुलाकै दुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ७०० भन्दा बढी स्थानीयको आँखाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ११ जनालाई मोतियाविन्दुको शल्यक्रिया आवश्यक रहेको पहिचान गरिएको थियो।
तीमध्ये नौ जनाको डडेलधुरास्थित गेटा आँखा अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरिएको छ। स्वास्थ्य अवस्थाका कारण बाँकी दुई जनाको भने तत्काल शल्यक्रिया गर्न नसकिएको बैंकले जनाएको छ।
आँखा शिविरमार्फत ४८७ जनालाई निःशुल्क चश्मा तथा ६०० जनालाई आवश्यक औषधिसमेत वितरण गरिएको थियो। सांग्रिला डेभलपमेन्ट बैंकले स्वास्थ्य सेवामा पहुँच विस्तार तथा समुदायको जीवनस्तर सुधारका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
हाल बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।





