काठमाडौं — ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला बैंकका ग्राहकहरूलाई गैर–कोष आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्र (MoU)मा हस्ताक्षर गरिएको छ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार, सांग्रिला बैंकका ग्राहकहरूले ग्लोबल आइएमई बैंकमार्फत लेटर अफ क्रेडिट (LC), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्गजस्ता सुविधा पाउनेछन्।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” २०२४ र २०२५ तथा युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधामा “नेपालको उत्कृष्ट बैंक” को रूपमा सम्मानित भएको छ। मुलुकका सबै ७७ जिल्लामा सेवा पुर्याएको यो बैंकसँग ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, र ३ विदेशस्थित प्रतिनिधि कार्यालय छन्। यसका साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा र ३० एटिएममार्फत सेवा दिइरहेको छ। स्थापना कालदेखि नै यसले ग्रामीण तथा शहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ। सांग्रिला बैंकले विशेष गरी साना तथा मझौला उद्यम (SME) र कृषि व्यवसाय प्रवर्द्धनका क्षेत्रमा ऋण सुविधा विस्तार गरेको छ। साथै, डिजिटल बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र कार्ड सेवामा पनि यसले उल्लेखनीय प्रगति गरेको छ।






