काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभाले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
असोज २२ गते काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न सभाले ४ प्रतिशत बोनस सेयर र करसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बैंकको हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको आधारमा बोनस सेयरबापत १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा र नगद लाभांशबापत २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा वितरण गरिनेछ।
लाभांश प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ।
उज्ज्वल सत्याल सञ्चालक समिति अध्यक्ष चयन
साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ। संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा चयन भएका छन्।
त्यस्तै, सर्वसाधारण सेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालक समितिमा चयन भएका छन्।
नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको बैंकले जनाएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।
बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकता दिँदै आगामी दिनमा सेवा विस्तार गर्ने बैंकले जनाएको छ।







