काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच आज बिहान टेलिफोन वार्ता भएको छ। बिहान १० बजे भएको वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग भएको संवाद महत्वपूर्ण रहेको बताउनुभएको छ।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
उहाँले विपद्पछि नेपालमा जारी उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्दै विशेषज्ञ ड्रोन अपरेटरको टोली, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो।
प्रधानमन्त्री शाहले बाढीका कारण बेपत्ता भएका अष्ट्रेलियाली नागरिकको खोजी कार्यलाई नेपाल सरकारले तीव्रता दिएको जानकारीसमेत गराउनुभयो। नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले विपद्को यो अवस्थामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काममा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिने बताउनुभयो।
टेलिफोन संवादका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले बाढी तथा विपद्का कारण नेपालले भोगिरहेको कठिनाइप्रति चासो र चिन्ता व्यक्त गर्नुभएको थियो।






