काठमाडौँ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन आज शनिबार नेपाल आउँदै छन्। भोटेकोशी बाढी–पहिरोमा बेपत्ता भएका आफ्ना नागरिकको खोजी तथा उद्धारमा नेपालसँग सहकार्य र सहयोगका विषयमा छलफल गर्न उनी नेपाल आउन लागेका हुन्।

तीन दिने नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ। उनले बाढीमा बेपत्ता भएका कोरियाली नागरिकका परिवारसँग समेत भेट गर्नेछन्।

ADVERTISEMENT

भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजना निर्माणमा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका छन्।

ADVERTISEMENT

बेपत्ता हुनेमा डुसान इनर्जीबिलिटीका ६ जना र कोरिया साउथ–इस्ट पावरका तीन जना कर्मचारी रहेका छन्। नेपाली परराष्ट्रमन्त्रीसँगको भेटमा विदेशमन्त्री चोले बेपत्ता कोरियाली नागरिकको खोजीलाई थप तीव्र र प्रभावकारी बनाउन नेपाल सरकारसँग आग्रह गर्ने अपेक्षा गरिएको छ।

साथै बाढी–पहिरो प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल हुनेछ। नेपालमा परिचालित कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) लाई विदेशमन्त्री चोले घटनास्थलमै पुगेर हौसला दिने कार्यक्रमसमेत रहेको जनाइएको छ। उनले बेपत्ता नागरिकको खोजीमा परिचालित सम्बन्धित कम्पनीका प्रतिनिधिसँग पनि भेट गर्नेछन्।

ADVERTISEMENT

दक्षिण कोरियाली सरकारले खोज तथा उद्धारका लागि नेपाल पठाएको केडीआरटीले नेपाली सुरक्षाकर्मी तथा सम्बन्धित कम्पनीका उद्धार टोलीसँग सहकार्य गरिरहेको छ। टोलीले हेलिकोप्टर, ड्रोन, खोजी कुकुर र थर्मल इमेजिङलगायत अत्याधुनिक उपकरण प्रयोग गरी भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ।