काठमाडौं । अध्ययनका लागि अष्ट्रेलिया पुगेकी नेपाली विद्यार्थी सुष्मा कोइरालाको जेठ १२ गते मंगलबार दक्षिण अष्ट्रेलियाको एडिलेड सहरमा निधन भएको छ ।सुष्माको असामयिक निधनले एडिलेडस्थित नेपाली समुदायलाई स्तब्ध बनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियासहित विभिन्न नेपाली संघसंस्थाले घटनाको पुष्टि गरेका छन् ।

सुष्माका श्रीमान विक्रम अर्यालले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै अप्रत्यासित रूपमा जीवनसाथी गुमाउँदाको पीडा व्यक्त गरेका छन् ।“यो अप्रत्यासित त्रासदीले मलाई मर्माहत बनाएको छ । यति चाँडो र अचानक आफ्नो मान्छे गुमाउनु पर्दा असीमित पीडासँग संघर्ष गरिरहेछु,” उनले लेखेका छन् ।

ADVERTISEMENT

विक्रमका अनुसार सुष्मा परिवारको सुनौलो भविष्य निर्माण गर्ने सपना बोकेर अष्ट्रेलिया पुगेकी थिइन् । उनले सुष्मा सहयोगी, मिलनसार र सबैमा खुशी बाँड्ने स्वभावकी रहेको उल्लेख गरेका छन् ।

हाल सुष्माको पार्थिव शरीर नेपाल ल्याउने तयारी भइरहेको छ । परिवारको इच्छाअनुसार नेपालमै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गर्ने योजना बनाइएको छ ।यसका लागि अष्ट्रेलियास्थित नेपाली समुदायले ‘गोफन्ड’ अभियानमार्फत आर्थिक सहयोग संकलन सुरु गरेको छ ।

ADVERTISEMENT

घटनाको पुष्टि भए पनि सुष्माको मृत्युको कारणबारे आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन ।