काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ। मध्यपूर्वमा तनाव बढेसँगै सुरु भएको ग्यास अभाव भोटेकोशीको बाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि थप चर्किएको हो।

सडक सञ्जाल प्रभावित भएपछि उपत्यकामा ग्यास आपूर्ति सहज हुन नसक्दा उपभोक्ताले लामो समयदेखि सास्ती खेप्दै आएका छन्। अभाव समाधानका लागि नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएपछि उपत्यका बाहिरका उद्योगबाट ग्यास भरेर काठमाडौँ ल्याउने प्रक्रिया अघि बढाइएको छ।

ADVERTISEMENT

नेपाल एलपी ग्यास उद्योग सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौँ बाहिर रहेका उद्योगमा खाली सिलिन्डरको अभाव रहेकाले उपत्यकामा खाली भएका सिलिन्डर ट्रकमार्फत उद्योगसम्म पुर्‍याएर पुनः भरी काठमाडौँ ल्याउन थालिएको छ।

ADVERTISEMENT

हाल तराईका १५ वटा ग्यास उद्योगमा विभिन्न २६ ब्रान्डका सिलिन्डर भर्न सुरु गरिएको छ। शुक्रबार मात्रै तराईका उद्योगबाट ३० हजार सिलिन्डर ग्यास काठमाडौँ भित्रिएको सङ्घले जनाएको छ।

सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्छ। तर पहिलेदेखि नै अभाव रहेकाले अहिले दैनिक खपत एक लाख सिलिन्डरसम्म पुग्ने अवस्था रहेको उनको भनाइ छ।

ADVERTISEMENT

उद्योगीहरूले ग्यासको आपूर्ति व्यवस्थापनका लागि संगठित रूपमा काम भइरहेकाले केही दिनमै समस्या समाधान हुने दाबी गरेका छन्। उपभोक्तालाई आवश्यकताअनुसार मात्र सिलिन्डर साट्न र अभावका बेला अनावश्यक मौज्दात नगर्न पनि आग्रह गरिएको छ।

एक बुलेटमा करिब ४५० सिलिन्डर ग्यास आउने गर्छ। ठूलो ट्रकले भरिएका करिब ५०० तथा खाली अवस्थामा करिब ६०० सिलिन्डरसम्म बोक्न सक्ने उद्योगीहरूको भनाइ छ।

खाडी क्षेत्रमा देखिएको संकट, पृथ्वी राजमार्ग अवरुद्धलगायत कारण देखाउँदै ग्यास आपूर्ति प्रभावित हुँदा उपभोक्ता थप मारमा परेका छन्। पछिल्लो आपूर्ति व्यवस्थापनले भने राजधानीमा ग्यास अभाव केही दिनभित्रै कम हुने अपेक्षा गरिएको छ।