काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलंक तथा संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको बताएका हुन्।
उनले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत र संस्थागत सुधार गर्दै आएको जानकारी दिएका छन्। तीनै तहका सरकार तथा सम्बन्धित सरोकारवालाको समन्वय र सहकार्यमा यसविरुद्धको अभियान अघि बढिरहेको उनको भनाइ छ।
यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ राष्ट्रिय दिवस मनाइँदै छ।
प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन भइरहेको उल्लेख गरेका छन्। त्यसैले प्रविधिको सही प्रयोगसँगै नागरिकमा आवश्यक सजगता र सचेतना बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल हुने गरी संशोधन गर्न विधेयकसमेत सदनमा दर्ता गरिएको छ।
उनले मानव बेचबिखनविरुद्धको अभियानमा संघीय सरकारसँगै प्रदेश तथा स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताएका छन्।






