काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, शिक्षा क्षेत्रको सहकार्य र विकास साझेदारीका विषयमा छलफल भएको थियो। विशेषगरी उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रबन्ध तथा दुई देशबीच सहकार्य विस्तार गर्ने सम्भावनाबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा शिक्षामन्त्री पोखरेलले अष्ट्रेलियन उच्च शिक्षाका प्रभावकारी कार्यक्रमसँग सहकार्य र साझेदारीका लागि सरकार सकारात्मक रहेको बताएका छन्। उनले त्यसका लागि आवश्यक कानुनी व्यवस्था र नीतिगत सुधारतर्फ पहल गरिने बताएका छन्।
पोखरेलले विश्वस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउने लक्ष्यसहित शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै विद्यालय शिक्षा सुधारमा अष्ट्रेलियासँग सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए।
राजदूत अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रबन्धप्रति चासो देखाउँदै अष्ट्रेलियन शैक्षिक कार्यक्रमहरू नेपालमा साझेदारीमार्फत विस्तार गर्न इच्छा व्यक्त गरेका छन्।





