काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८१\८२ मा ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०\८१ मा बैंकले ४ अर्ब १० करोड ८९ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवमा बैंकको नाफा ६४.४४ प्रतिशतले बढेको हो ।
बैंकको खुद ब्याज आम्दानी घटे पनि अन्य आम्दानीमा सुधार भएको छ भने बैंकले सम्भावित नोक्सानीका लागि गरेको प्रोभिजन घटेको छ । जसले गर्दा बैंकको नाफा उल्लेख्य बढेको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशतले घटेर १४ अर्ब १२ करोड ८२ लाख रुपैयाँमा झरेको छ ।
यस्तै खुद बैंकको फि तथा कमिसन आम्दानी १ अर्ब ७७ करोड ८० लाखबाट बढेर २ अर्ब २० करोड ३२ लाख रुपैयाँ पुगेको छ । बैंकको नेट ट्रेडिङ आम्दानी र अन्य सञ्चालन आम्दानी करिब ८८ करोडबाट बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
यस्तै सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन भने ५ अर्ब ११ करोड १६ लाख रुपैयाँबाट घटेर गत आर्थिक वर्षमा ५७ करोडमा झरेको छ । जसले बैंकको खुद सञ्चालन आम्दानी १२ अर्ब ६६ करोड १० लाखबाट ३४.८० प्रतिशतले बढेर १७ अर्ब ६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन खर्च बढे पनि सञ्चालन नाफा ५८.६७ प्रतिशतले बढेर १० अर्ब १४ करोड २८ लाख रुपैयाँ पुगेको छ ।
गत आवमा बैंकको निक्षेप करिब ६९ अर्बले बढेर ४ खर्ब ७२ अर्ब ३५ करोड पुग्दा कर्जा करिब साढे २१ अर्बले बढेर ३ खर्ब २६ अर्ब ९३ करोड पुगेको छ । निक्षेपको तुलनामा कर्जा विस्तार न्युन हुँदा सिडी रेसियो ७४.४४ प्रतिशतमा झरेको छ । त्यस्तै बैंकको आधार दर पनि घटेर ५.७८ प्रतिशतमा झरेको छ ।







