काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले स्मार्ट टेलिकम प्रालिसँग सम्बन्धित कर्जा असुली तथा लिलामी प्रक्रियाबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०८३ वैशाख ३० गते जारी गरेको प्रेस विज्ञप्तिमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेमाथि स्मार्ट टेलिकम प्रालिलाई सम्पत्ति लिलाम बिक्री गरेको आरोपबारे अनुसन्धान भइरहेको उल्लेख भएपछि बैंकले आफ्नो धारणा सार्वजनिक गरेको हो।
बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा सुरक्षित कारोबार ऐन, २०६३ ले दिएको अधिकार र बैंकको कर्जा असुली निर्देशिकाअनुसार नै कर्जा असुली प्रक्रिया अघि बढाइएको जनाएको छ। बैंकले निक्षेपकर्ताको रकम सुरक्षित राख्ने कानुनी दायित्व अन्तर्गत उक्त प्रक्रिया पूरा गरिएको स्पष्ट पारेको छ।
एनआईएमबीले अनुसन्धानका लागि सम्बन्धित निकायबाट माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग समयमै उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बैंकका अनुसार २०७८ असार ३ गते स्मार्ट टेलिकम प्रालिसँग सम्बन्धित विभिन्न उपकरण तथा सामग्री लिलामीको सूचना प्रकाशित गरी सोही अनुसार लिलामी प्रक्रिया सम्पन्न गरिएको थियो। उक्त लिलामीबाट प्राप्त कुल रु. ४ अर्ब ६० करोडमध्ये रु. ४ अर्ब २२ करोड सहवित्तीयकरण कर्जा भुक्तानीमा प्रयोग भएको जनाइएको छ।
बाँकी रहेको रु. ३८ करोड रकम भने बैंकको ‘अर्नेस्ट मनी अक्सन अकाउन्ट’मा सुरक्षित रहेको बैंकले जनाएको छ। सो रकम स्मार्ट टेलिकमका उपकरण जडान भएका घर-जग्गा धनीलाई बाँकी घरभाडा, विद्युत महसुल लगायतका भुक्तानीका लागि रोक्का गरिएको बैंकले स्पष्ट पारेको छ। सम्बन्धित निकायबाट प्रमाणसहित माग आएपछि आवश्यक प्रक्रिया पूरा गरी क्रमिक रूपमा भुक्तानी गरिने पनि बैंकले जनाएको छ।
बैंकले जारी अनुसन्धान प्रक्रियाका कारण आफ्नो दैनिक कारोबार, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने विश्वास व्यक्त गरेको छ।
साथै बैंकले आफ्ना निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा नेपाल राष्ट्र बैंकप्रति निरन्तर सहयोग, सद्भाव र विश्वासका लागि आभार व्यक्त गरेको छ।









