काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा गृहमन्त्री सुधन गुरुङले आम नागरिकका समस्या, गुनासा र सुझाव सुन्न आयोजना गरेको कार्यक्रममा सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाइएको छ।
पार्टीले तय गरेको कार्यक्रमअन्तर्गत गृहमन्त्री गुरुङ सोमबार बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा नागरिकका समस्या सुन्न पुगेका हुन्। साँझ ५ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम गुरुङ करिब ४५ मिनेट ढिलो पुगेपछि सुरु भएको थियो।
गुरुङले कार्यक्रममा सहभागी नागरिकका गुनासा, समस्या तथा सुझाव सुनिरहेका छन्। तर मन्त्रीसमक्ष आफ्ना समस्या राख्न आएका कतिपय नागरिकले समेत कार्यक्रम हलमा प्रवेश पाउन नसकेको बताइएको छ।
कार्यक्रममा सञ्चारमाध्यमलाई समेत प्रवेश दिइएको छैन। झ्यालबाट भित्रको दृश्य खिच्न सकिने अवस्था भए पनि नागरिकले मन्त्रीसँग के विषयमा गुनासो गरिरहेका छन् भन्ने कुरा सुन्न भने सञ्चारकर्मीलाई अनुमति दिइएको छैन।
कार्यक्रमस्थलमा खटिएका सुरक्षाकर्मीका अनुसार सञ्चारमाध्यमलाई कार्यक्रम हलमा प्रवेश नगर्न निर्देशन आएकाले रोकिएको हो।






