काठमाडौँ । ‘कन्ट्री’ विधाकी प्रख्यात अमेरिकी गायिका तथा गीतकार जेसिका लीन नेपाली संगीतकर्मी तथा संगीत उद्योगका पेसाकर्मीसँग व्यावसायिक आदानप्रदान, मार्गदर्शन तथा सहकार्यका लागि काठमाडौं आइपुगेकी छन्।

अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा प्रायोजित ‘आर्ट्स एन्ड म्युजिक अन्भोय’ कार्यक्रमअन्तर्गत लीन नेपाल आएकी हुन्। भदौ ८ देखि १३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा नेपाली संगीत क्षेत्रका विभिन्न विधाका कलाकार तथा पेसाकर्मी सहभागी हुनेछन्।

कार्यक्रमअन्तर्गत लीनले गीत लेखन, सांगीतिक व्यवसाय, डिजिटल प्लेटफर्म, प्रतिलिपि अधिकार तथा समग्र संगीत उद्योगका विषयमा नेपाली गायक–गायिका, संगीतकार, गीतकार, निर्माता, कलाकार व्यवस्थापक लगायतसँग अन्तरक्रिया तथा छलफल गर्नेछिन्।

ADVERTISEMENT

यसबाट नेपाली कलाकार तथा संगीत उद्योगका पेसाकर्मीले अन्तर्राष्ट्रिय बजार, श्रोता–दर्शक तथा अमेरिकी संगीत उद्योगका समकक्षीसँग सहकार्यका सम्भावनाबारे नयाँ दृष्टिकोण हासिल गर्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

नेपालको संगीत क्षेत्र विस्तार हुँदै गएको अवस्थामा अन्तर्राष्ट्रिय अनुभव र दृष्टिकोणसँग नेपाली सर्जक समुदायलाई जोड्दा नेपाली संगीतको बजार तथा श्रोता–दर्शकको दायरा थप फराकिलो बनाउन सहयोग पुग्ने अमेरिकी दूतावासले जनाएको छ।

ADVERTISEMENT

कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले अमेरिका र नेपालबीचको साझेदारी कलाको क्षेत्रमा समेत विस्तार भइरहेको बताए। अमेरिकी स्वतन्त्रताको २५०औँ वर्ष मनाइरहेको सन्दर्भमा अमेरिकी सांस्कृतिक उत्कृष्टता नेपालमा बाँड्न पाउँदा गौरवान्वित रहेको उनको भनाइ छ।

उनले संगीत दुई देशका जनतालाई जोड्ने शक्तिशाली माध्यम भएको उल्लेख गर्दै कलाकार तथा श्रोता–दर्शकलाई एकअर्काबाट सिक्ने, दृष्टिकोण आदानप्रदान गर्ने र व्यावसायिक सम्बन्ध निर्माण गर्ने अवसरले नेपालको बढ्दो संगीत उद्योगको आर्थिक तथा सिर्जनात्मक विकासमा योगदान पुर्‍याउने बताए।

कार्यक्रमको समापन भदौ १३ गते शनिबार ललितपुरको पुलचोकस्थित ‘द प्लाजा’ सम्मेलन केन्द्रमा सार्वजनिक कन्सर्टमार्फत हुनेछ।

कन्सर्टमा जेसिका लीनसँगै नेपाली कलाकार रातो रानी र उजन शाक्यले प्रस्तुति दिनेछन्। साथै लीन र प्रख्यात सारंगीवादक तथा अमेरिकी सरकारी आदानप्रदान कार्यक्रमका पूर्वसहभागी किरण नेपालीको विशेष ‘फ्युजन’ प्रस्तुति पनि रहनेछ।