काठमाडौं, भदौ ८ गते । कामना सेवा विकास बैंक लिमिटेडले २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते आयोजना गर्ने भएको छ। बैंकले साधारणसभा काठमाडौंको बालुवाटार रोडस्थित आम्रपाली बैंक्वेटमा गर्ने जनाएको छ।
साधारणसभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। बैंकले चुक्ता पुँजीको १५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत सभामा पेस हुनेछ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँटसम्बन्धी विवरण पारित गर्नेछ। बाह्य लेखापरीक्षक नियुक्तिसहित अन्य प्रस्तावसमेत सभामा पेस हुने बैंकले जनाएको छ।
गत आर्थिक वर्ष बैंकले बोनस शेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो। बैंकले साधारणसभा तथा प्रस्तावित लाभांश प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।






