काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

दुई देशबीच पाँच महिनाभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेको वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाएका हुन्।

बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले इरानविरुद्ध हालसम्म कुनै पनि देशमाथि नलगाइएको स्तरको कठोर आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन्। उनका अनुसार इरानले सम्झौताको अवसर उपयोग गर्न नसके अब कठोर आर्थिक युद्ध र अन्तर्राष्ट्रिय एक्लोपनको सामना गर्नुपर्नेछ।

ADVERTISEMENT

ट्रम्पले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन्। इरानलाई वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने देशले ठूलो आर्थिक परिणाम भोग्नुपर्ने उनको भनाइ छ।

ADVERTISEMENT

तेल तस्करी, स्वाप लाइन, नगद हस्तान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा अग्रिम कम्पनीमार्फत हुने कारोबार तत्काल रोक्नुपर्ने ट्रम्पले बताएका छन्।

ADVERTISEMENT

इरानबाट उत्पन्न खतरा हटाउन तथा उसलाई परास्त गर्न अमेरिकाका सबै सहयोगी देशहरू एकजुट हुनुपर्ने उनले बताएका छन्।

इरानमाथि आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी भने नयाँ होइन। अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाइसकेको छ।