काठमाडौं । सेयर कारोबार रकममा कमी आए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भने साताको समग्र प्रदर्शन सकारात्मक देखिएको छ ।

साताको अधिकांश कारोबार दिन बजार क्रमश: उकालो लागे पनि दुई कार्य दिन सामान्य करेक्सन आउँदा नेप्से २६४३.८३ बिन्दुमा सीमित भएको छ । कारोबार रकममा भने अघिल्लो साताको तुलनामा करिब दुई अर्ब रुपैयाँको गिरावट आएको छ ।

यो साता नेप्से परिसूचक २६४३.८३ बिन्दुमा पुगेर रोकिएको छ भने ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स चार सय ६४ दशमलव ७३ बिन्दुमा पुगेर रोकिएको छ । यसले समग्र बजार परिसूचकमा साताको अन्तिम दिन केही दबाब देखिए पनि ठूला तथा प्रमुख कम्पनीप्रति लगानीकर्ताको आकर्षण तुलनात्मक रूपमा कायम रहेको देखिएको छ ।

ADVERTISEMENT

साताभर धितोपत्र बजारमा ३५२ वटा कम्पनीको सेयर कारोबार भयो । सातामा दुुई लाख ३८ हजार ४६९ पटकको कारोबारमा चार करोड ९१ लाख ८३ हजार १८७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १९ अर्ब ३१ करोड ७९ लाख ४५ हजार चार सय ३९ रुपैयाँ पुगेको छ ।

ADVERTISEMENT

जबकि अघिल्लो साता ३५० वटा कम्पनीको कारोबार हुँदा दुई लाख ८४ हजार तीन सय ३५ पटक सेयर किनबेच भएको थियो । जसबाट उक्त साता पाँच करोड ३३ लाख ९७ हजार पाँच सय २० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २१ अर्ब ४४ करोड ९९ लाख ६३ हजार दुई सय ८३ रुपैयाँ पुगेको थियो ।

यस आधारमा हेर्दा यो साता कारोबार रकम अघिल्लो साताको तुलनामा दुई अर्ब १३ करोड रुपैयाँभन्दा बढीले घटेको छ । कारोबार संख्या पनि घटेको छ भने कारोबार भएका सेयर कित्ताको संख्यामा समेत कमी आएको छ । अर्थात् बजार सूचकमा सुधार देखिए पनि लगानीकर्ताको कारोबार सक्रियता भने अघिल्लो साताको तुलनामा केही खुम्चिएको छ ।

यो साता नेप्सेको नियमित कारोबार कक्ष पाँचै दिन खुलेको थियो । साताको पहिलो र अन्तिम दिन बजार ओरालो लागे पनि बीचका तीन कारोबार दिन भने लगातार उकालो लागेको थियो । सोमबार नेप्से परिसूचक नौ दशमलव शून्य चार अंकले ओरालो लागेर २६ सय ४१ दशमलव शून्य पाँच बिन्दुमा खुम्चिँदा सेन्सिटिभ इन्डेक्स पनि २.२० अंकले ओरालो लागेर ४६१.३६ बिन्दुमा खुम्चिएको थियो ।

मंगलबार भने बजारले सामान्य सुधार देखाउँदै नेप्से शून्य दशमलव ७९ अंकले उकालो लागेर २६ सय ४१ दशमलव ८५ बिन्दुमा कायम रहँदा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८५ अंकले उकालो लागेर चार सय ६२ दशमलव २२ बिन्दुमा चढेको थियो ।

बुधबार पनि नेप्सेमा थप शुन्य दशमलव ५५ अंकको वृद्धि भयो । परिसूचक २६ सय ४२ दशमलव ४० बिन्दुमा पुगेको दिन सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३९ अंकले उकालो लागेर चार सय ६३ दशमलव ६१ बिन्दुमा कायम रह्यो । बिहीबार बजारमा तुलनात्मक रूपमा बलियो सुधार देखियो । नेप्से आठ दशमलव ८१ अंकले उकालो लागेर २६ सय ५१ दशमलव २१ बिन्दुमा पुगेको थियो । सो दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९७ अंकले उकालो लागेर चार सय ६४ दशमलव ५९ बिन्दुमा पुगेको थियो । साताको यही दिन नेप्सेले उच्चतम विन्दुसमेत छोयो ।

तर शुक्रबार भने बजारमा सामान्य करेक्सन आयो । नेप्से सात दशमलव ३७ अंकले ओरालो लागेर २६ सय ४३ दशमलव ८३ बिन्दुमा खुम्चियो । सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव १३ अंकले उकालो लागेर चार सय ६४ दशमलव ७३ बिन्दुमा पुग्यो । यसले अन्तिम दिन समग्र बजारमा बिक्री चाप रहे पनि ‘क’ वर्गका कम्पनीप्रति लगानीकर्ताको माग तुलनात्मक रूपमा बलियो रहेको देखायो ।

यो साता धितोपत्र बजारमा रिडी पावर कम्पनी लिमिटेड र रिलायन्स स्पिनिङ मिल्सलगायतका कम्पनीमा बढी रकमको कारोबार भएको छ । यसले निश्चित कम्पनी तथा समूहका सेयरमा लगानीकर्ताको चासो केन्द्रित रहेको देखाएको छ । कारोबार भएको सेयर संख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक र आँखुखोला जलविद्युत् कम्पनी अगाडि रहेका छन् ।

यसबाट कारोबार रकमका हिसाबले आकर्षण र सेयर संख्याका हिसाबले आकर्षण फरक–फरक कम्पनीमा देखिएको बुझिन्छ । बजार पुँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका छन् ।