उपप्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी समस्या समाधान गर्न चार सदस्यीय वार्ता समिति गठन गरेका छन्।

बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्। मन्त्री वाग्लेले समितिलाई पीडित पक्षसँग तत्काल वार्ता प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

ADVERTISEMENT

गठित समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्।

ADVERTISEMENT

त्यस्तै, अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

अर्थ मन्त्रालयका अनुसार समितिको पहिलो बैठक मन्त्रालयमै बसेर आन्दोलनरत लघुवित्त पीडित पक्षसँग आजै वार्ता सुरु गर्ने तयारी भइरहेको छ।

ADVERTISEMENT

लघुवित्त क्षेत्रमा देखिएका समस्या, ऋण असुली प्रक्रिया र पीडितका माग सम्बोधन गर्ने उद्देश्यसहित सरकारले वार्ता समिति गठन गरेको हो। समितिले वार्तामार्फत समस्या पहिचान गरी समाधानका लागि सुझाव दिने अपेक्षा गरिएको छ।