काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार अर्थात् बिल चिट्ठा कार्यक्रम तत्कालका लागि अन्योलमा परेको छ। वस्तु तथा सेवा खरिद–बिक्रीमा बिल–बीजकको लेनदेन संस्कृतिको विकास गर्ने र उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सरकारले प्रत्येक १५ दिनमा चिठ्ठामार्फत करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको थियो।
सरकारले साउन महिनामा दुई पटक चिठ्ठा खोलेको थियो। त्यसक्रममा दुई जनाले १० लाख रुपैयाँका दरले बम्पर पुरस्कार पाएका थिए भने ३० जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका थिए। आकस्मिक लाभकरबापत २५ प्रतिशत कटौतीपछि सामान्यतर्फका विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गरेका थिए। बम्पर पुरस्कारमा समेत २५ प्रतिशत कर कटौतीपछि विजेताले ७ लाख ५० हजार रुपैयाँ पाएका थिए।
तर मुलुकमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिका कारण मंगलबार खोल्ने भनिएको चिठ्ठा कार्यक्रमबारे अन्योल देखिएको छ। आन्तरिक राजस्व विभागका प्रवक्ता केशव रघुवंशीले आज खोल्ने भनिएको चिठ्ठाका विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको बताएका छन्। उनका अनुसार कार्यक्रम सञ्चालन गर्ने वा स्थगित गर्ने विषयमा विभागमा थप जानकारी आएको छैन।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले पनि आफूलाई यस विषयमा जानकारी नभएको बताएका छन्। मन्त्रीस्तरबाट स्थगनसम्बन्धी कुनै जानकारी नआएको उनको भनाइ छ।
प्रवक्ता रघुवंशीले देशमा ठूलो विपत्ति आएकाले केही समय कार्यक्रम रोक्नु उपयुक्त हुने आफ्नो व्यक्तिगत धारणा रहेको बताए। यद्यपि कार्यक्रम स्थगित गर्ने वा निरन्तरता दिने अधिकार अर्थमन्त्री स्वर्णिम वाग्ले तथा अर्थ मन्त्रालयसँग रहेकाले आफूले आधिकारिक निर्णयबारे केही भन्न नसक्ने उनको भनाइ छ। यससँगै मंगलबारका लागि तय गरिएको बिल चिट्ठा कार्यक्रम सञ्चालन हुने वा स्थगित हुने विषयमा औपचारिक निर्णयको प्रतीक्षा गरिएको छ।







