काठमाडौँ। बजेट घोषणाअघि विभिन्न भन्सार नाकाबाट ठूलो संख्यामा विद्युतीय सवारीसाधन (ईभी) जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थ मन्त्रालयविरुद्ध फैलाइएका आरोपप्रति मन्त्रीको निजी सचिवालयले आपत्ति जनाएको छ।

अर्थमन्त्रीका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले शनिबार जारी गरेको सन्देशमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत तथ्यलाई तोडमोड गरी अर्थमन्त्री र मन्त्रालयका अधिकारीहरूको चरित्रहत्या गर्ने प्रयास भएको दाबी गरिएको छ।

ADVERTISEMENT

सचिवालयका अनुसार रसुवागढी भन्सार नाकामा भन्सार बिन्दुमै नपुगेका विद्युतीय सवारीसाधन जाँचपास भएको विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसपछि जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाई भन्सार विभागमा तानिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, मुस्ताङको कोरला नाकाबाट भित्रिएका ईभी सम्बन्धी विषयमा पनि छानबिन समिति सक्रिय रहेको र स्थलगत अध्ययन भइरहेको बताइएको छ। मन्त्रालय, भन्सार विभागका अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि सम्मिलित टोली फिल्डमै रहेर अनुसन्धान गरिरहेको जनाइएको छ।

ADVERTISEMENT

प्रारम्भिक अनुसन्धानमा भन्सार छलीको आशंकामा नियन्त्रणमा लिइएका सवारीसाधन र आयातकर्ता कम्पनीमाथि पनि छानबिन भइरहेको छ। तर विस्तृत प्रतिवेदन अझै तयार भइसकेको छैन।

अनुसन्धान जारी रहँदा नै अर्थमन्त्री, अर्थ मन्त्रालय र बजेट प्रक्रियालाई विवादमा तान्ने उद्देश्यले अफवाह फैलाइएको र ‘मिडिया ट्रायल’ गरिएको भन्दै सचिवालयले आपत्ति जनाएको छ।

छानबिनको निष्कर्ष आउनुअघि नै जिम्मेवार अधिकारीहरूको चरित्रहत्या गर्ने र गलत धारणा फैलाउने प्रयास भएको भन्दै सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस्ता गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कानुनी प्रक्रिया सुरु भइसकेको र थप कानुनी कदम चालिने तयारी भइरहेको पनि सचिवालयले जनाएको छ।

अर्थ मन्त्रालयले सम्बन्धित विषयमा समाचार बनाउँदा तथ्य जाँच गरी मात्र निष्कर्ष निकाल्न तथा भन्सार, राजस्व र बजेटजस्ता प्राविधिक विषयमा सत्यतथ्य पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

पछिल्ला दिनमा बजेटअघि ठूलो संख्यामा ईभी जाँचपास भएको विषय सार्वजनिक भएपछि विभिन्न प्रश्न उठिरहेका छन्। रसुवागढी र कोरला नाकासम्बन्धी घटनामा सरकारले छुट्टाछुट्टै छानबिन प्रक्रिया अघि बढाएको छ।