काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार  ललितपुरको बागमती गाउँपालिका-३, पाण्डुरस्थित कान्ति लोकपथ आज बिहान ५:३५ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

ADVERTISEMENT

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग अन्तर्गत चारकिलो र कोदारी दुवै स्थानमा पहिरो खसेका कारण सडक पूर्ण रूपमा बन्द छ।

ADVERTISEMENT

कोशी प्रदेशको इलाम नगरपालिका-९, राजदुवालीस्थित मेची राजमार्ग (झापा-ताप्लेजुङ सडक) पनि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको छ।

भोजपुरको मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गहरूमा रात्रिकालीन यात्रामा रोक लगाइएको छ।

ADVERTISEMENT

काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी खण्ड (वि.पि. राजमार्ग) मा बाढीको सम्भावनाका कारण साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

बिहान ४:०० बजेदेखि साँझ ६:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन चल्न दिइनेछ। त्यसैगरी, मकवानपुरको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर खण्ड (कान्ति लोकपथ) मा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण राति ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

वर्षातको समयमा सडकको अवस्था प्रतिकुल हुन सक्ने भएकाले यात्रा गर्नुअघि नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर मात्र निस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

756699792_28290089947255088_7435527024960105401_n