काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। साउन ४ गते बिहान ६:१० बजेसम्मको विवरणअनुसार कोशी र बागमती प्रदेशका अधिकांश मुख्य सडकखण्डमा यातायात प्रभावित भएको छ।

कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलामको राजदुवालीस्थित मेची राजमार्ग, खोटाङको माम्खास्थित मध्यपहाडी लोकमार्ग तथा उदयपुरको हर्देनीस्थित सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

ADVERTISEMENT

बागमती प्रदेशमा काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको कान्तिलोकपथमा पनि अर्को सूचना नभएसम्म सवारी आवागमन स्थगित गरिएको छ।

यस्तै, सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो जाँदा पृथ्वीराजमार्ग पनि बन्द भएको छ।

ADVERTISEMENT

धादिङको बेनीघाट–रोराङ क्षेत्रमा पहिरो हटाएर पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा ल्याइए पनि जोवाङ खोलामा पुनः पहिरो खस्दा सडक फेरि अवरुद्ध भएको छ। रसुवाको बोकेझुन्डामा पहिरो गएपछि पासाङ ल्हामु राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेको छ।

सम्बन्धित निकायले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी रहेको जनाएको छ।

743288802_1459365336015518_8743276289074991387_n