काठमाडौं — गएरातिको अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। बाढी अचानक सेन्टरभित्र पस्दा त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीको जनजीवन प्रभावित भएको छ।

पीडितका अनुसार बाढीले घरायसी सामान, लत्ताकपडा लगायतका सामग्री नष्ट गरेको छ। राति अचानक बाढी पस्दा सामान जोगाउने अवसरसमेत नपाएको र सुरक्षाकर्मी राति २ बजेपछि मात्रै पुगेको उनीहरूको गुनासो छ।

ADVERTISEMENT

सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि तीन महिना बितिसक्दा समेत व्यवस्था नगरी असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले होल्डिङ सेन्टरमा भन्दा आफ्नै टहरामा बस्नु सुरक्षित हुने अवस्था आएको भन्दै सरकारको बेवास्ताप्रति आक्रोश जनाएका छन्।

यता, गृह मन्त्रालयले भने राति करिब साढे १ बजे सूचना प्राप्त हुनासाथ उद्धार टोली परिचालन गरिएको जनाएको छ। मन्त्रालयका अनुसार सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा स्थानान्तरण गरिएको छ भने अन्य प्रभावितहरू सुरक्षित स्थान तथा आफन्तकहाँ आश्रय लिएका छन्।

ADVERTISEMENT

प्रभावितका लागि खाना र अन्य राहत सामग्रीको व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ।