काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन र नवीकरणका लागि साउन १४ गतेसम्मको समय तोकेको छ।

पार्टी महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले सदस्यता अनुमोदन र अद्यावधिक गर्ने सम्बन्धमा नयाँ समयसीमा र प्रक्रिया निर्धारण गरेको हो।

ADVERTISEMENT

साेमबार ललितपुरको बी.पी. स्मृति भवनमा बसेको बैठकले वडा सभापतिलाई सदस्यता वितरण र नवीकरणको लागि साउन १४ सम्मको डेडलाइन दिएको हो ।

प्रतिनिधि सभा क्षेत्र र वडा तहमा वडा सभापतिमार्फत प्राप्त भएका नयाँ क्रियाशील सदस्यता आवेदन र अनलाइन प्रणालीमार्फत आएका आवेदनहरूलाई अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गतेसम्म तोकिएको छ। यस्तै, पालिका र प्रतिनिधि सभा क्षेत्रले मातहतका तहबाट प्राप्त आवेदनहरू ३ दिनभित्र अनुमोदन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

इन्टरनेटको पहुँच कम भएका हिमाली र विकट पहाडी जिल्लाहरूका साथै भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्यहरूको हकमा एक्सेल फारममार्फत सदस्यता अद्यावधिक गर्ने निर्णय बैठकले गरेको छ। यस्ता फारमहरू साउन १५ गतेभित्र केन्द्रमा बुझाइसक्नुपर्नेछ।

यदि कुनै क्षेत्र वा वडाका सभापतिले डिजिटल प्रणालीमा सदस्यता अद्यावधिक गर्न नसकेमा, केन्द्रीय प्रतिनिधिको सिफारिसमा वैकल्पिक व्यवस्था गरी सदस्यता अनुमोदन गरिने निर्णय भएको छ।

यस्तै, विविध कारणले सदस्यता अद्यावधिक गर्न छुटेका जिल्लाहरूको हकमा पनि केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रले नै काम गर्नेछ।कांग्रेसले सक्रिय सदस्यता संख्या न्यून भएका वडाहरूमा विशेष ध्यान दिएको छ।

जुनसुकै वडामा क्रियाशील सदस्य संख्या ४० भन्दा कम भएको अवस्थामा वा ३५ वर्ष मुनिका युवा सदस्यहरूको संख्या ५ भन्दा कम भएको अवस्थामा, केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रबाटै सिधै सदस्यता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा पार्टीको सङ्गठन सुदृढीकरणका लागि सदस्यता वितरण र नवीकरण प्रक्रियालाई तीव्रता दिन यी निर्णयहरू गरिएको उल्लेख छ।

755104923_1048278527749291_4267866761276467_n