चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक दुईवटा बस एकापसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनामा परेका बस हटाउने काम जारी रहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने उनीहरूको संख्या खुलाइएको छैन।
दुर्घटनामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको निलो बस र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको राजधानी एक्सप्रेस बस ठोक्किएका हुन्। दुर्घटनामा राजधानी एक्सप्रेसका चालक गम्भीर घाइते भएका छन्।
वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सवारी सञ्चालन रोकेको थियो। आइतबार बिहान ६ बजे सडक खुला गरिएलगत्तै सवारीसाधनको चाप बढ्दा लेन अनुशासन उल्लंघनका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
सडक डिभिजन कार्यालयले चालकलाई सीमित गतिमा र लेन अनुशासन पालना गर्दै सवारी चलाउन आग्रह गरेको छ।






