तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्ते क्षेत्रमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। विश्वकर्मा मन्दिर नजिकै भएको दुर्घटनामा करिब ३५ वर्षीय केशव सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना ८ ख ३६५ नम्बरको टिपर आज बिहान करिब ४ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाएका सुनारको स्थायी ठेगाना भने हालसम्म खुलेको छैन।

मृतक टिपरका चालक हुन् वा सवारीमा रहेका अन्य व्यक्ति हुन् भन्ने विषयमा पनि यकिन हुन सकेको छैन। टिपरमा अरु व्यक्ति सवार थिए वा थिएनन् भन्नेबारे समेत स्पष्ट जानकारी नआएको प्रहरीले जनाएको छ। घटनास्थल आसपास खोल्सा र झाडी रहेको कारण खोजीकार्य जारी रहेको छ।

प्रहरीका अनुसार पाल्पा सिमेन्ट उद्योग, नवलपरासीबाट सिमेन्ट बोकेर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको टिपर सडकबाट करिब २५० मिटर तल खोलामा खसेको थियो। दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी हार्थोक र अर्गलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

बिहानको अँध्यारोका कारण प्रारम्भिक अनुसन्धानमा केही कठिनाइ भएको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।