काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। साविककै आकार तथा रङमा नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याइएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार संकेत नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म भएका नयाँ नोट चलनचल्तीमा ल्याइएको छ।

ADVERTISEMENT

नयाँ ५० रुपैयाँको नोटको अगाडिको भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश रहेको छ।

ADVERTISEMENT

नोटको बाँयातर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापको मुनि ‘५०’ अंकसमेत रहेको छ। नोटको तल्लो खण्डमा वि.सं. २०८२ सिरिज उल्लेख गरिएको छ।

नयाँ नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षण धागो राखिएको छ। प्रकाशतर्फ पारेर हेर्दा उक्त धागो पूर्ण रूपमा देखिन्छ र त्यसमा ‘NRB’ लेखिएको छ।

ADVERTISEMENT

नोटको पछाडिको मध्य भागमा हिउँ चितुवाको चित्र राखिएको छ भने त्यसको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ। तल्लो भागमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार यसअघि २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको सिरिज २०१९ का नोट संकेत नम्बर ज ८९ ०००००१ देखि ट ३३ ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने सूचना जारी गरिएको थियो। तर, त्यसमध्ये ज ८९ ०००००१ देखि ट २३ ९००००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।