काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २५ वटा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार गएराति करिब साढे १२ बजे भक्तपुरको एसएस चोक नजिक दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विवरण पनि सार्वजनिक गरिएको छैन।
यसैबीच, ट्राफिक नियम उल्लंघन गर्ने ७२१ जना चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।
त्यस्तै, शंकास्पद गतिविधिमा संलग्न ११३ जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




