काठमाडौं । चाडपर्वका बेला उपभोक्तालाई एलपी ग्यास सहज रूपमा उपलब्ध गराउन काठमाडौं उपत्यकाका ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेरको व्यवस्था गरिएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २६ गते सोमबारदेखि असोज ३० गते शुक्रबारसम्म विशेष व्यवस्था मिलाएको हो। तोकिएका केन्द्रबाट बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्न सकिनेछ।
संघका अध्यक्ष दिवान चन्दले आइतबार जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो समय भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात सहज रूपमा भइरहेको छ। गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको संघले जनाएको छ।
यद्यपि, चाडपर्वका बेला कतिपय उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र एउटा ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न समस्या भएको गुनासो गरेका थिए। सोही समस्यालाई ध्यानमा राख्दै उपत्यकामा बजारमा बिक्री भइरहेका विभिन्न ब्रान्डका सिलिन्डर साटफेर तथा बिक्रीका लागि विशेष व्यवस्था गरिएको संघले जनाएको छ।
संघका अनुसार तोकिएका केन्द्रमा उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगका सिलिन्डर मात्रै साटफेर गर्न पाइनेछ। ती केन्द्रबाहेक अन्य स्थानमा सिलिन्डर साटफेरको व्यवस्था नहुने पनि संघले स्पष्ट पारेको छ।













