काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुन्डिएका विद्युत्, दूरसञ्चार र इन्टरनेटका तार निश्चित समयसीमाभित्र व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा बुधबार बसेको उच्चस्तरीय बैठकले सम्बन्धित सबै निकायलाई तोकिएको समयसीमाभित्र अव्यवस्थित तार हटाउन निर्देशन दिएको हो।

ADVERTISEMENT

उपत्यकाको तार व्यवस्थापनका लागि गठित उपसमितिले विद्युत् पूर्वाधार प्रयोग भएका ६ वटा प्राथमिक रुटमा काम अघि बढाइसकेको छ। हाल पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा तार व्यवस्थापन भइरहेको छ भने काठमाडौं महानगरपालिकाले प्राथमिकता दिएका अन्य क्षेत्रमा पनि अभियान विस्तार गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वका अनावश्यक तार हटाइरहेको भए पनि विभिन्न सेवा प्रदायकका पुराना केबलको स्वामित्व पहिचान गर्न कठिन भएको जनाएको छ। सेवा प्रदायकहरूले नयाँ केबल जडान गरेपछि पुराना केबल नहटाउने प्रवृत्तिले व्यवस्थापन चुनौतीपूर्ण बनेको प्राधिकरणको भनाइ छ।

ADVERTISEMENT

बैठकले अव्यवस्थित तार व्यवस्थापनलाई केवल सरसफाइ अभियानका रूपमा नभई सहरी सौन्दर्य, नागरिक सुरक्षा, दूरसञ्चार पूर्वाधारको दीर्घकालीन व्यवस्थापन र अन्तरनिकाय समन्वयसँग जोडिएको राष्ट्रिय अभियानका रूपमा अघि बढाउने निर्णय गरेको छ।

नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, एनसेल र आईस्पानका प्रतिनिधि सहभागी बैठकले कार्यक्षेत्र विभाजन, समयसीमा र संयुक्त कार्ययोजनासहित अभियानलाई तीव्रता दिने सहमति गरेको छ।