काठमाडौं। अन्ततः सेयर बजारले सकारात्मक लय समातेको छ। विगत लामो समयदेखि लगातार ओरालो लाग्दै आएको सेयर बजारले यो साताको दोस्रो कारोबार दिनदेखि सकारात्मक लय समातेको अनुभव लगानीकर्ताले गरेका छन्।

लगातार सेयर बजार ओरालो लागेपछि लगानीकर्ताहरूले यस साता आन्दोलनस्वरूप पुँजी बजार सुधारको माग गर्दै नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गरेका थिए। त्यसपछि बोर्डले तत्काल पुँजी बजार सुधारका लागि कार्यपत्र सार्वजनिक गर्दै केही योजनाहरू अघि सारेको थियो। यसैगरी, नेपाल राष्ट्र बैंकले पनि यसै साता सम्बन्धित कम्पनीको कार्यगत दक्षता र क्षमताका आधारमा सेयर धितो कर्जा दिन सकिने व्यवस्था गर्दै मार्जिन लेन्डिङ शीर्षकअन्तर्गतको कर्जालाई केही सहजीकरण गरिदियो। यी सबैको सकारात्मक प्रभाव यस साता सेयर बजारमा देखियो। जसका कारण लगानीकर्ताको मनोबल केही बढेको छ। यही कारण यस साता नेप्से परिसूचक २ हजार ६ सय ७७ दशमलव ७४ बिन्दुमा उक्लिएको छ भने ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४ सय ६८ दशमलव ३८ बिन्दुमा पुगेको छ।

ADVERTISEMENT

यस साता ३८३ वटा कम्पनीको सेयर कारोबार भएको छ। त्यसअनुसार २ लाख ४१ हजार ६ सय ७४ पटकको कारोबारमा ८ करोड ८३ लाख ५० हजार १ सय ११ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३० अर्ब ३ करोड ७० लाख ३ हजार १६ रुपैयाँ पुगेको छ। यो कारोबार रकम गत साताको तुलनामा करिब ६ अर्ब रुपैयाँले बढी हो। गत साता ३६७ वटा कम्पनीको सेयर कारोबार भएको थियो। त्यसअनुसार ३ लाख ७ हजार १ सय ९१ पटकको कारोबारमा ४ करोड ४९ लाख ३४ हजार ८ सय २ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २४ अर्ब २५ करोड ६७ लाख ३ सय ७ रुपैयाँ पुगेको थियो। यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँचै कार्यदिन खुला थियो। जसमध्ये पहिलो दिन बजार घटेको भए पनि बाँकी चार कार्यदिन लगातार उकालो लागेको थियो।

ADVERTISEMENT

दैनिक सेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ३० दशमलव ६० अंकले घटेर २ हजार ५ सय ७० दशमलव १८ बिन्दुमा झरेको थियो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३ दशमलव ०४ अंकले घटेर ४ सय ५० दशमलव ५५ बिन्दुमा पुगेको थियो। दोस्रो कारोबार दिन मंगलबार भने नेप्से परिसूचक ६ दशमलव ११ अंकले बढेर २ हजार ५ सय ७६ दशमलव २९ बिन्दुमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि ० दशमलव ७९ अंकले बढेर ४ सय ५१ दशमलव ३४ बिन्दुमा पुगेको थियो। तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक १४ अंकले बढेर २ हजार ५ सय ९० दशमलव २९ बिन्दुमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि २ दशमलव ५९ अंकले बढेर ४ सय ५३ दशमलव ९४ बिन्दुमा पुगेको थियो। चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक ७ दशमलव ५० अंकले बढेर २ हजार ५ सय ९७ दशमलव ८० बिन्दुमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स २ दशमलव ९२ अंकले बढेर ४ सय ५६ दशमलव ८६ बिन्दुमा पुगेको थियो। पाँचौँ कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढेर २ हजार ६ सय ७७ दशमलव ७४ बिन्दुमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ५१ अंकले बढेर ४ सय ६८ दशमलव ३८ बिन्दुमा पुगेको थियो।

यस साता आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, सिद्धार्थ बैंकको ऋणपत्र लगायतका धितोपत्रको सबैभन्दा बढी रकमको कारोबार भएको छ। कारोबार भएका कित्ताको आधारमा पनि लक्ष्मी सनराइज बैंक र आँखुखोला जलविद्युत कम्पनी लिमिटेड अग्रस्थानमा रहेका छन्। बजार पुँजीकरणका आधारमा भने यस साता नेपाल टेलिकम, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन्।

दैनिक सेयर कारोबार तालिका