काठमाडौं । अविरल वर्षा र पहिरोका कारण जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकाबाट लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै बाहिरिने सबै लामो दूरीका सवारीसाधन बसपार्कलगायत स्थानमा रोकिएको छ। सोमबार रातिदेखि रात्रिकालीन सवारी सञ्चालन बन्द गरिएकोमा मंगलबार बिहान पनि सवारी छुट्न दिइएको छैन।
प्रहरीका अनुसार चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेपछि नागढुंगा–मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएकाले उक्त मार्गमा सवारी सञ्चालन रोकिएको हो।
यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो खसेकाले उक्त सडक हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ।
फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा पुग्ने सडक पनि कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरो खसेपछि बन्द भएको छ।
ट्राफिक प्रहरीले सडकको अवस्था र जोखिमको निरन्तर मूल्यांकन गर्दै सवारी सञ्चालनबारे निर्णय गरिने जनाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले पनि मुग्लिन–नारायणगढ सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोक्ने निर्णय गरिसकेको छ।






