काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग गरेका ५७ वटा सवारीसाधनमाथि जरिबानासहित कारबाही गरेको छ। आइतबार उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष ट्राफिक जाँचका क्रममा ती सवारीसाधनलाई कारबाही गरिएको हो।
कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेका अनुसार कानुनविपरीत सवारीसाधनमा कालोसिसा प्रयोग गर्न पाइँदैन। नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि निगरानी बढाइएको छ।
पछिल्लो समय निजी तथा सार्वजनिक सवारीसाधन, विशेषगरी माइक्रोबस र ट्याक्सीमा कालोसिसा प्रयोग बढेपछि ट्राफिक प्रहरीले अभियान सञ्चालन गरेको हो।
कालोसिसाका कारण सवारीभित्रको गतिविधि बाहिरबाट नदेखिने भएकाले आपराधिक गतिविधि, अवैध ओसारपसार तथा फरार व्यक्तिको आवतजावत लुकाउन सजिलो हुने प्रहरीको भनाइ छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अनुमति बिना सवारीसाधनको स्वरूप परिवर्तन गर्न पाइँदैन। कानुनविपरीत कालोसिसा प्रयोग गर्ने सवारीसाधनमाथि आगामी दिनमा पनि कारबाही जारी रहने ट्राफिक प्रहरीले जनाएको छ।






