काठमाडौँ । यस वर्ष दसैँका समयमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा उल्लेख्य कमी आएको छ । गत वर्ष दसैँमा १५५ वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएकोमा यस वर्ष १०५ वटा दुर्घटना भएका छन् भने तीन जनाले ज्यान गुमाएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पनि सात जनाले कम भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्ष भएका अधिकांश दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित छन् । तीव्र गतिका कारण सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटना हुने गरेको उनले बताए ।
सुवेदीले ट्राफिक प्रहरीले पूर्वतयारीसहित योजनाबद्ध रूपमा काम गर्नुका साथै यातायात व्यवसायी, मजदुर र अन्य सरोकारवालाको समन्वयले सडक सुरक्षा सुधार गर्न सहयोग पुगेको बताए ।
त्यस्तै, उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले दुर्घटनापछि तत्काल उद्धार र प्रभावकारी उपचारको व्यवस्था हुँदा घाइतेको ज्यान बचाउन सहयोग पुगेको बताए ।
दसैँका समयमा सवारीसाधनको आवागमन बढ्ने र चालकको लापरबाही तथा तीव्र गतिका कारण दुर्घटनाको जोखिम रहने भएकाले ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको थियो । विभिन्न स्थानमा गरिएको सवारी जाँच, निगरानी र प्रहरी परिचालनले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको कार्यालयको भनाइ छ ।
दुर्घटना र मृत्युको सङ्ख्या घटे पनि तीव्र गति तथा दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित दुर्घटनाले सडक सुरक्षामा थप सतर्कता आवश्यक रहेको देखाएको छ । ट्राफिक प्रहरीले चालकलाई गति नियन्त्रण गर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ ।










