काठमाडौं । सरकारले गठन गरेको संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरिएको छ । मंगलबार मात्र नेकपा, जसपा, लोसपा र राजमो कार्यदलबाट बाहिरिएका थिए ।
एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै संविधान संशोधनका विषयमा आजका दिनसम्म पनि आफ्नो पार्टीको प्रस्तावअनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको भन्दै पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जनाएका छन् ।
संघीय सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम गठित बहसपत्र कार्यदलमा एमालेबाट डा. भीष्म अधिकारी प्रतिनिधि तोकिएका थिए । कार्यदलको पहिलो बैठकमा उनी सहभागी भएका थिए । सरकारले प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहकाे संयाेजकत्वमा संविधान संशाेधन बहसपत्र कार्उदल गठन गरेकाे छ ।
कार्यदलको काम कारवाही सुरुदेखि नै संदिग्ध प्रकृतिको रहेको, संविधान संशोधनका विषयहरू किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषयहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध देखिएको पोखरेलले जनाएका छन् ।
‘वर्तमान संविधानका आधारभूत विषयहरूलाई अझ सुदृढ बनाउने र विगतमा देखिएका नकरात्मक अभ्यास र कमीकमजोरीलाई सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले सदैव दृढ रहेकोमा त्यसविपरीत विषयहरू नै खल्बल्याउने उद्देश्य राखेर कार्यदल सहभागी रहेको हाम्रो पार्टी तत् समयदेखि अनुपस्थित रहँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आजका दिनसम्म पनि हाम्रो पार्टीको प्रस्ताव अनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको सन्दर्भमा औपचारिक रूपमा पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी गराउँदछु ।’







