काठमाडौं, भदौ ९ गते । बागमती प्रदेश सरकार गठनको प्रक्रिया र मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केही प्रदेशसभा सदस्य पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न मंगलबार काठमाडौं पुगेका छन्।
मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहेका बेला सत्तारूढ दलभित्रै असन्तुष्टि बढेपछि प्रदेश सरकारमाथि थप राजनीतिक दबाब परेको छ। स्रोतका अनुसार नेकपाका प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठ, कृष्णप्रसाद खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठलगायत नेता काठमाडौं पुगेका हुन्।
उनीहरूले बागमती प्रदेशमा सरकार गठनका क्रममा भएको मन्त्रालय बाँडफाँट र पार्टी नेतृत्वको भूमिकाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष प्रचण्डसमक्ष आफ्नो धारणा राख्ने तयारी गरेका छन्।
मुख्यमन्त्रीले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय गरिएको थियो। तर सत्ता गठबन्धनभित्र सहमति जुट्न नसकेपछि प्रदेशसभा बैठक पटक–पटक सर्दै अन्ततः मंगलबार अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो। स्रोतका अनुसार असन्तुष्ट सांसदहरू सोमबार विश्वासको मतका लागि हेटौँडा नपुगेपछि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको थियो।
यसबीच अध्यक्ष प्रचण्डले असन्तुष्ट सांसदहरूलाई हेटौँडा पुगेर सरकारको पक्षमा मतदान गर्न आग्रह गरेको स्रोतको दाबी छ। तर सांसदहरूले सरकार गठन प्रक्रियामै कमजोरी रहेको भन्दै तत्काल विश्वासको मत दिन कठिन हुने धारणा राखेको बताइएको छ।
सोमबार दिनभर अध्यक्ष प्रचण्डले केही सांसदसँग सम्पर्कको प्रयास गरे पनि उनीहरू सम्पर्कमा नआएको स्रोतको भनाइ छ। विश्वासको मतको बैठक मंगलबारसम्म सारिएपछि भने असन्तुष्ट सांसदहरू अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष छलफलमा जुटेका हुन्।
सांसदहरूसँगको छलफलपछि नेकपा नेतृत्वले विश्वासको मत र सरकारमा सहभागिताबारे थप निर्णय गर्ने अपेक्षा गरिएको छ। असन्तुष्ट समूहको अडान कायमै रहे मुख्यमन्त्री थापा मगरका लागि विश्वासको मत जुटाउन थप चुनौती देखिएको छ।






