काठमाडौं– अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आगामी भदौ १२ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’को आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्। डबिङपछि उनले फिल्म आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको प्रतिक्रिया दिएकी छन्।

दीपाश्रीका अनुसार ‘पार्वती’को फरक शैली, मन छुने कथा र सशक्त पटकथाले आफूलाई निकै प्रभावित पारेको छ। हाल फिल्मको डबिङ कार्य अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ।

ADVERTISEMENT

फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारीले पनि फिल्म आफूले कल्पना गरेभन्दा राम्रो बनेको उल्लेख गर्दै दीपाश्रीसहित सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गरेकी छन्।

ADVERTISEMENT

‘नीता फिल्म्स’को ब्यानरमा निर्माण भएको फिल्ममा नीता ढुङ्गाना अधिकारी, दीपाश्री निरौला, अशोक दर्जी, सिरू बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।

हरिहर अधिकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्। फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन र रोयल भिमसेनको पोस्टर डिजाइन रहेको छ।

ADVERTISEMENT

यता, दीपाश्रीको होम प्रोडक्सनको फिल्म ‘छ माया छपक्कै २’ पनि यसै वर्षको दसैंमा प्रदर्शनको तयारीमा रहेको छ। ‘आमा सरस्वती मुभिज’ र ‘रोहित अधिकारी फिल्म्स’को ब्यानरमा निर्माण भइरहेको उक्त फिल्मको छायांकन अन्तिम चरणमा पुगेको जनाइएको छ।

यद्यपि, फिल्ममा दीपाश्रीको अभिनय रहने वा नरहने विषयमा भने निर्माण टिमले अहिलेसम्म खुलाएको छैन।