काठमाडौं। करिब तीन दशकअघि दोलखाबाट चोरी भएका ऐतिहासिक तथा धार्मिक महत्वका ‘हाथ्व’ अर्थात् आकाश भैरवका दुई अमूल्य मुकुट अन्ततः आफ्नै थातथलो दोलखा फर्किएका छन्। अमेरिकाका विभिन्न संग्रहालयबाट कूटनीतिक तथा कानुनी प्रक्रियामार्फत स्वदेश ल्याइएका मल्लकालीन मुकुटहरूलाई बिहीबार राजकीय सम्मान र परम्परागत धार्मिक विधिअनुसार पुनःस्थापना गरिएको हो।

राष्ट्रिय संग्रहालय, छाउनीबाट कडा सुरक्षाका बीच दोलखा ल्याइएका मुकुटहरूको सदरमुकाम चरिकोटदेखि नै स्थानीयवासी, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रतिनिधिहरूले भव्य स्वागत गरेका थिए। बाजागाजा, धूप, अबिर र फूलमालासहित चरिकोटदेखि ऐतिहासिक दोलखा बजारसम्म नगर परिक्रमा गराइएको थियो।

ADVERTISEMENT

३० वर्षपछि आफ्ना कुलदेवताको प्रतीकस्वरूप मुकुट फर्किएको ऐतिहासिक क्षणमा स्थानीयवासी भावुक बनेका थिए। नगर परिक्रमा सम्पन्न भएपछि मुकुटहरूलाई गुरुकोट टोलस्थित नक्छे प्रधान खलकको कुलघरमा लगिएको थियो। त्यहाँ तान्त्रिक तथा परम्परागत विधिअनुसार अभिषेक, स्वागत र प्राणप्रतिष्ठा पूजा गरी पुनःस्थापना गरिएको छ।

इतिहासअनुसार यी मुकुटहरू १६औँ शताब्दीमा निर्मित भएका हुन्। तत्कालीन दोलखाका राजा गोविन्ददेवका पाँच सन्तानबीच अंशबन्डा हुँदा नक्छे प्रधान खलकको भागमा परेका यी मुकुटहरू वर्षभरि गोप्य कोठामा सुरक्षित राख्ने र इन्द्रजात्राका अवसरमा मात्रै सर्वसाधारणलाई दर्शन गराउने परम्परा रहेको थियो।

ADVERTISEMENT

वि.सं. २०५० र २०५१ सालमा गुरुकोटस्थित कुलघरबाट मुकुट चोरी भएपछि दोलखाको मौलिक जात्रा तथा धार्मिक परम्परामा गम्भीर असर परेको थियो। ‘लस्ट आर्ट्स अफ नेपाल’ अभियानको अनुसन्धानबाट एक मुकुट अमेरिकाको डलास म्युजियम अफ आर्ट र अर्को रुबिन म्युजियम अफ आर्टमा रहेको पत्ता लागेको थियो।

पुरातत्त्व विभाग, नेपाल हेरिटेज रिकभरी क्याम्पेन, अमेरिकी अनुसन्धान निकाय तथा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको समन्वयमा आवश्यक प्रमाण संकलन गरी कानुनी प्रक्रिया पूरा भएपछि मुकुटहरू नेपाल फर्काइएको हो।