काठमाडौं । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ ।
फिल्मका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको लिरिकल भर्सनको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङको स्वर छ। कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ । गीतमा शब्द, सङ्गीत जयन जे वाइवाको छ ।
पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई युट्युबमा भ्यूज एक करोड बढी भ्यूज प्राप्त भएपछि निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो ।
‘मायालाई के दिउँ म बैना’ करोड भ्यूज नाघेको अवसरमा निर्माण पक्षले केक काट्दै खुसियालीसमेत साटेको छ । सार्वजनिक गरिएको दोस्रो गीत ‘मिठो संसार’ मा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रसंशा सुवेदी, बालकलाकार समाइरा थापालगायत फिचर्ड छन् ।
फिल्मका लेखक तथा निर्देशक यम थापाले सार्वजनिक दोस्रो गीत फिल्मको कथासँग जोडिएको बताए । उनले भने, ‘गीतमा आमा र छोरी बीचको प्रेम देखाइएको छ । छोरीप्रति आमाको माया र हुर्काउन गर्ने संघर्षलाई चित्रण गरिएको छ ।’
‘लालीबजार’ को प्रदर्शन मिति आगामी वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टललगायतको अभिनय छ ।





