काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०९ अंक घटेर २६२१.५९ विन्दुमा झरेको छ।
मौद्रिक नीतिमा लचिलो नीतिहरुको अपेक्षा गरिरहेका लगानीकर्ताले खासै कुनै परिवर्तन र बजारलाई टेवा पुग्ने कुनै नीति नपाएपछि सेयर बजार घट्न पुगेको छ । मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको थियो।
आज १३ मध्ये एक उपसमूहको परिसूचक बढेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक १.७० प्रतिशत घटेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार चार अर्ब ४० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३६२ स्टकको ७७ हजार ६२७ पटकको कारोबारमा चार अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँबराबरको ८४ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ ।
बुधबार ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ को ६२ करोड ३९ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। साढे ४३ करोड रुपैयाँभन्दा बढीको ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ किनेबच भएको छ भने करिब २२ करोड रुपैयाँबराबरको ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ खरिदबिक्री भएको छ।
आज मूल्य बढेका स्टकहरुको वृद्धिदर ६ प्रतिशतभन्दा कम छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १३.४१ प्रतिशत घटेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी घटेको छ भने सानिगाड हाइड्रोको सेयरमूल्य करिब साढे ६ प्रतिशत घटेको छ।







