काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेएको छ। बिहीबार घटेर बन्द भएको नेप्सेले आज पनि त्यसलाई निरन्तरता दिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.३७ अंक घटेर २७५५.४१ विन्दुमा झरेको छ। १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ । नौ उपसमूहको परिसूचक घटेको छ।
वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७७ प्रतिशत बढेको छ। होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। बिहीबार चार अर्ब ७० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आज ३५१ स्टकको ५५ हजार ४६७ पटकको कारोबारमा पाँच अर्ब ६२ करोड ५६ लाखको कारोबार भएको छ।
आज आँखु खोला जलविद्युत कम्पनीको ५५ करोड ६९ लाख ६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सिटी होटलको साढे १९ करोड रुपैयाँ र १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।
कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ९८ रुपैयाँ ८० पैसा बढेर ७५७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।








