काठमाडौं । साताको चौथो दिन बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। इन्ट्रा डे करेक्सनपछि अन्तिम समयमा सकारात्मक भएर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१७ अंक बढेर २७२६.७२ विन्दुमा पुगेको छ। १३ मध्ये ११ उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत बढेको छ। जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

ADVERTISEMENT

नेप्से बढे पनि आज कारोबार भने घटेको छ। बुधबार पाँच अर्ब १८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३३८ स्टकको ५७ हजार ७८२ पटकको कारोबारमा चार अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँबराबरको एक करोड ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको २८ करोड ३३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको साढे २७ करोड रुपैयाँ र रिडी पावरको करिब २५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

बिहीबार एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ७३ रुपैयाँ ८० पैसा बढेर ५६६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। स्नो रिभर्सको सेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ । एपोलो हाइड्रोपावरको सेयरमूल्य ११ प्रतिशत बढेको छ।