काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.८१ अंक बढेर २६५१.२१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक बढेको छ।
१३ मध्ये १० उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधबार तीन अर्ब ५३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । बिहीबार ३४७ स्टकको ४५ हजार ८२२ पटकको कारोबारमा तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँबराबरको एक करोड २ लाख २५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
बिहीबार घलेम्दी हाइड्रो कम्पनीको २९ करोड ९८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोडभन्दा बढी र सोलु हाइड्रोपावरको कारोबार साढे १५ करोड रुपैयाँ नाघेको छ।
आज सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सुपर खुदी हाइड्रोपावरको सेयरमूल्य १३ प्रतिशत र घलेम्दी हाइड्रोको सेयरमूल्य करिब १२ प्रतिशत बढेको छ।





