काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालय पर्साले शुक्रबार नै सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिनामा लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाएर पुरक अभियोग दायर गरेको हो। यसमा लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ।

लामिछाने र जोशी हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा छन्। त्यसबाहेक मुद्दा दायर भएका सबैजना फरार कायम गरी मुद्दा दायर भएको छ।
सरकारी वकिलले जोशीसँग सात करोड २० लाख ९८ हजार रुपैयाँ र लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार बिगो मागदाबी गरेको छ।

सहकारी ऐनअनुसार जोशीलाई चार वर्षदेखि ६ वर्षसम्म कैद र लामिछानेलाई ६ वर्षदेखि आठ वर्षसम्म कैद सजायको माग गरेको छ। त्यसबाहेक संगठित अपराध निवारण ऐनअनुसार थप सजाय माग गरेको छ।

लामिछानेले सहकारी संस्थाबाट एक करोड ५० लाख रुपैयाँ व्यक्तिगत ऋण लिएको अभियोजन पत्रमा उल्लेख छ । त्यसका लागि रवि एक लाख रुपैयाँ हालेर सहकारीको सदस्यसमेत बनेको खुलेको छ ।

‘सानो पाइला ऋण तथा सहकारी संस्थाबाट भएको अपचलन भएको कुल ऋण मध्ये निज प्रतिवादी रवि लामिछानेको हकमा व्यक्तिगतरूपमा १ करोड ५० लाख र गोर्खा मिडिया नेटवर्कको सञ्चालक प्रबन्ध निर्देशक र शेयर सदस्य रहेको समयमा १० करोड ६ लाख ऋण लिएको देखियो,’ अभियोजन पत्रमा उल्लेख छ ।